अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश गम्भीर अवस्थामा छ, सरकार निरिह छ: अध्यक्ष ओली

देश गम्भीर अवस्थामा छ, सरकार निरिह छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका सबै नवसंरचना श्रमिकले नै निर्माण गरेका बताउनुभएको छ। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जीफण्ट) ले काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले तिनै श्रमिक दमन र शोषणमा पर्नु अन्यायपूर्ण भएको बताउनुभयो।

श्रमजीवीका अधिकार श्रमिक र श्रमजीवीकै आन्दोलनका कारण स्थापना भएका अध्यक्ष ओलीले बताउनुभयो। यस संघर्षका क्रममा धेरैले बलिदान दिनु परेको ओलीले स्मरण गर्नुभयो। श्रमिकको अधिकार स्थापनाको लागि अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ) ले खेलको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । 

मजदुर आन्दोलन भित्र अहिले समान कामको लागि समान ज्यालाको लडाइँ लड्नु परेको उहाँले बताउनुभयो। नेपालबाट विदेश गएर काम गरिरहेका कतिपय मजदुरहरूले अहिले त्यो देशका मजदुरले सरह सुविधा नपाएको भन्दै ओलीले त्यसको लागि लडाई लड्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँका श्रमिकहरूले प्राप्त गर्ने सुविधा जो छन्, समान कामको समान पारिश्रमिक र समान सुविधा हुनुपर्दछ।’

श्रमका लागि युवा बिदेसिने क्रम जारी रहँदा देशका ठुला उद्याेग बेचेर खाने काम भएको भन्दै ओलीले आलोचना गर्नुभयो । सार्वजनिक स्वामित्वमा रहेका चिज जाली खेल खेलेर कमिसनका भरमा कौडीको भाउमा बेच्ने काम भएको उहाँले बताउनुभयो। अहिले पनि सरकार सार्वजनिक उद्योग बेच्ने योजनामा रहेको बताउँदै उहाँले त्यसलाई रोक्नु पर्ने प्रष्ट पार्नुभयो ।

देश अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले देशलाई सहज अवस्थामा फर्काउनु पर्नेमा जोड दिनुभयो । त्यो काम कर्मले मात्र गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । 

नेकपा एमालेले नेतृत्व गरेको बेला तीन वर्षमा देशले असाधारण गति लिएको ओलीले बताउनुभयो।अहिले गठबन्धनले विकासको सबै गति ठप्प पारेको उहाँको भनाइ छ । 

एमालेले छोटो समयमा धेरै काम गरेको ओलीले बताउनुभयो । तथापि कतिपय विरोधीले केही गरेन भनेर उमालेको विरुद्ध भ्रम चलाउने काम गरेका र केही मानिस त्यही भ्रमको पछि लागेका ओलीको भनाइ छ । ‘भ्रमबाट देश बन्दैन, भावनाबाट देश बन्दैन, योजनाबद्ध ढङ्गले सही नीतिका साथ देशलाई अगाडि बढाउनु पर्छ ’, ओलीले भन्नुभयो । 

ओलीले अहिलेको सरकार किन सरकारमा बसिरहेको छ भन्दै आश्चर्य व्यक्त गर्नुभयो । सरकार निरीह भएर फोहोरको राजनीति गरेर बसेको भन्दै ओलीले आलोचना गर्नुभयो । सरकारले देशलाई गुमराहमा राख्ने काम गरेको ओलीले बताउनुभयो । ‘देश गम्भीर अवस्थामा छ, तर सरकार यो गम्भीरतालाई बुझिरहेको छैन’, ओलीले भन्नुभयो । 

एमालेले सरकार छाडेको दुई वर्ष भित्रै विकास निर्माण, सामाजिक काम, खोज अनुसन्धानका काम सबै हराएका उहाँले बताउनुभयो । कर्मचारीलाई तलब खुवाउन र सरकार छ है भन्न बाहेक अन्य केही काम गर्न नसक्ने अवस्थामा अहिलेको सरकार पुगेको उहाँले प्रष्ट पार्नुभयो ।