अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ हराभरा हुँदै

झापाको चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ हराभरा हुँदै


झापा – झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन्। रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ।

भद्रपुर-८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ।

विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो। राजनीतिक द्वन्द्वका कारण रमणीयस्थल बिस्तारै उजाड बन्न पुग्यो ।

सुन्दर पार्क लामो समयसम्म भग्नावशेषमा अवस्थामा रहेपछि स्थानीय र सञ्चारमाध्यमले पार्कको जीर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ।

चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिका–८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जीर्णोद्धारका लागि रु १० लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गौरव सुब्बा बताउनुहुन्छ । राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिकस्थलको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

“चालु आवमा रु. १० लाख बजेट छुट्यायौँ”, वडाध्यक्ष सुब्बाले भन्नुभयो, “आगामी आवमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ ।” पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको जनाउँदै उहाँले अब कुनै हालतमा पार्कलाई बेवारिसे बन्न नदिइने बताउनुभयो ।

पालिकाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रङ्गरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, सालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रङ्गले उज्यालिएका छन् ।

पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुलीलगायतका खेल सामग्रीहरु राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

क्यामेलियाको विभिन्न फूल र बोन्साइका पोथ्राले पार्कको आकर्षण बढाएका छन् । पर्यटक हिँड्ने फुटपाथ र गोरेटो वरपर हरियाली फूलका झ्याँङ हुर्काइएका छन् ।

रङ्गरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिले नियमितरुपमा पार्कको जीर्णोद्धार अघि बढाइरहेको छ।

एक महिनाभित्र महेन्द्र पार्कले काँचुली फेरिसक्ने पार्कका माली अमृत थापाले बताउनुभयो । फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लोलगायतका बोटका हाँगाबिँगा छिमलेर सुन्दर बनाउन लागिरहेको बताउनुहुन्छ माली थापा । उहाँसँग संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैँचामा मालीको काम गरेको अनुभव छ ।

पार्कको इतिहास

पार्क विसं २०२८ मा तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाले निर्माण गर्न लगाउनु भएको थियो । झापा सदरमुकामको मध्यभागमा निर्माण भएको पार्कको बीच भागमा ३० फिट अग्लो कलात्मक स्तम्भ निर्माण गरी त्यसमाथि राजा महेन्द्रको पूर्णकदको सालिक राखिएको थियो ।

पार्कको वरिपरिको पर्खाल र मूल प्रवेशद्वारलाई कलाकौशलले सिङ्गारिएको थियो । दक्षिणतर्फ रहेको प्रवेशद्वारमा  आकर्षक कलाकृति कुँदिएको छ भने मूलद्वारको सिरानमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने अक्षर कुँदिएको छ ।

सालिक भत्काइएपछि अहिले त्यहाँ भग्नावशेष बाँकी छ । जसमा नगरपालिकाले राष्ट्रिय झन्डा फहराएको छ । स्तम्भको फेदमा सिंह, हात्ती, घोडा, माछा र मयूरको कलात्मक मूर्ति कुँदिएको छ । स्तम्भ वरिपरि पानीको फोहोरा निस्कने पूर्वाधार निर्माण भएको छ । अहिले पानीको आपूर्ति र पाइपलाइन बिग्रिएको कारण फोहोरा अवरुद्ध छ ।

विसं २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि भद्रपुर नगरपालिकामा पहिलो नगरप्रमुख बनेर आउनुभएको जीवनकुमार श्रेष्ठले पुरानो पार्कलाई नयाँ अवधारणाका साथ सञ्चालनमा ल्याउन रु १० लाख बजेट विनियोजन गर्नुभएको थियो । त्यसअघि राजनीतिक द्वन्द्वका कारण नगरपालिकाले पार्कमा ध्यान दिन सकेको थिएन ।

“अब हामी पार्कको नाम के हुनुपर्छ के हुनुपर्दैन भन्ने विवादमा अलमल गर्दैनौँ,” पार्कको जीर्णोद्धार गरेर पर्यटकीयस्थलका रुपमा पुनरुत्थान गर्ने अभियानको नेतृत्व गरिरहनुभएको भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा भन्नुहुन्छ, “निकट विगतमा झापाकै सबैभन्दा उत्कृष्ट मानिएको पार्क हो यो । यसलाई अझ बढी आकर्षक रस्तरीय बनाएर नगरको सौन्दर्य र पर्यटकीय विकासमा लाग्नेछौँ ।”

Skip This