काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताले सर्वाधिक मन पराएको पार्टी भएको बताउनुभएको छ।
नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा मंगलबार आयोजित मिसन ग्रासरुट अभियान, सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले व्यापक घेराबन्दीका बिचमा पनि नेकपा एमालेले गएको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेको बताउनुभयो । तर एमाले सुदृढ भएको ठाउँमा पनि गएको निर्वाचनमा एमाले उम्मेदवार पराजित हुनु दुःखपूर्ण भएको ओलीले बताउनुभयो।
एमाले कार्यकर्ता सधैँ सत्यको पक्षमा हुने उहाँले प्रष्ट पार्नुभयो । एमाले कार्यकर्ता इमान, निष्ठा र आदर्शको पक्षमा हुने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले कार्यकर्ता बेइमान हुँदैन, बेइमान छ भने एमाले कार्यकर्ता हुँदैन ।’
एमालेको संगठन मजबुत संगठन भएको बताउँदै ओलीले यो मजबुती आउने निर्वाचनमा देखाउनु पर्ने बताउनुभयो। आउने निर्वाचनमा एमालेले आफ्नो बल बुतामा नै एकल बहुमतको सरकार बताउनु पर्नेमा उहाँको भनाइ छ । देशमा एमाले बाहेक एकल बहुमतको सरकार बनाउन सक्ने अरू कुनै पार्टी नभएको उहाँले दाबी गर्नुभयो ।
ओलीले एमाले पार्टीलाई मात्र होइन जनवर्गीय संगठनलाई पनि आफ्नो जिम्मेवारीको काम पूरा गर्न आग्रह गर्नुभयो । सबै जन वर्गीय संगठनलाई जनताको बिचमा पुग्न उहाँले निर्देशन दिनुभयो । नयाँ पिँढीलाई विभिन्न संगठन मार्फत उत्तराधिकारीको रूपमा पार्टीमा ल्याउनु पर्ने ओलीले बताउनुभयो ।
ओलीले देशको अर्थतन्त्र जोगाउनको लागि पनि एमाले बलियो पार्टी बन्नु पर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्र ओरालो लागेकोले त्यसलाई फर्काउन नसक्ने हो भने असफलता तर्फ जाने चेतावनी दिनुभयो ।




प्रतिक्रिया