सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको छ।
बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन वन कार्यालयको रु १० लाख लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनमा बालबालिकाको भिड लाग्ने गरे तापनि अहिले भने शून्य नै छ । उचित संरक्षण हुननसक्दा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचना प्रयोग गर्न लायक अवस्थामा नरहेको स्थानीय अमिर श्रेष्ठ बताउनुहुन्छ।
गत वर्षमा मात्र निर्माण भएको शहीद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको सुनिल बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार सशस्त्रद्वन्द्वको क्रममा मारिनुभएका जिल्लाका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै रु १८ लाख लागतमा चौतारा साँगाचोकगढी वडा न ६ मा निर्माण भएको हो।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको शहीद पार्क उचित संरक्षण हुन नसकेपछि जीर्ण भएको स्थानीय शिक्षक पृथ्वीजङग पाण्डेले जानकारी दिनुभयो । विसं २०४० मा तत्कालीन पञ्चायतविरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीरबहादुर थामी र इले थामीको सम्झना र सम्मानमा पार्क निर्माण गरिएको उहाँको भनाइ छ।
विसं २०६४ मा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको शहीद स्मृति पार्क भने १६ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनिसकेका छन्। विसं २०६४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सशस्त्रद्वन्द्वमा सहादत प्राप्त शहीदको सम्झनामा निर्माण गरिएको पार्कका लागि सुरुमा रु २० लाख बजेट विनियोजन भएको र निरन्तररुपमा पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीय महेश नेपालले बताउनुभयो।
यसवर्ष पनि सो पार्कका लागि बलेफी गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेटको सही सदुपयोग हुन नसक्दा पार्क निर्माण अलपत्र भएको उहाँको भनाइ छ।






प्रतिक्रिया