काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताउनुभएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत औंल्याउनु भयो ।
मंगलवार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनु भयो ।

ओलीले भन्नुभयो, ‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब यदी १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ । यहाँ यत्तिकै हाहाहुहु गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलव ? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलव । तर तपाई हामीले मतलव राख्नुपरेको छ। हामीले बुझ्नुपरेको छ कि देश बर्बादीतिर जाँदैछ । खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएका छन् । अरु औद्योगिक क्षेत्र बर्बाद भएको छ । उद्योगहरु बन्द प्रायःको स्थितिमा छ । समाप्त भइराखेको छ । यस्तै निर्माण व्यवसाय ध्वस्त भएको छ । नेकपा एमालेको समयमा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बनेपछि ६ किलोमिटरका दरले बाटा तयार हुन्छ भनेपछि निर्माण कार्य धमाधम हुनुपर्छ । पुनर्निर्माणको त्यत्रो कार्य ग¥यौं हामीले । निर्यात घटेको छ । आयात त पैसा भएको पो मगाउने ? त्यस स्थितिमा गईसकेको छ । आयात कम भएको देखिए पनि भइराखेको छ भन्सार छलेर । जसले गर्दा भन्सार उठेको छैन । भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भईराखेको छ । राजस्व कम यो लामो समयपछि भइरहेको छ । तिब्र्र गतिका साथ अर्थतन्त्र माइनसमा गईरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्व खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पती बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा सम्पुरक बजेट ५० प्रतिशत भन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो । अब उनीहरुले काम लगाइसक्या छ । ठेक्का लगाइसक्या छ । उपभोक्तालाई काम दिइसक्या छ ।’
ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौति गरेको पनि बताउनु भयो ।





प्रतिक्रिया