अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार गैर जिम्मेवार मात्र होइन, असक्षम र नालायक पनि हो: ईश्वर पोखरेल

सरकार गैर जिम्मेवार मात्र होइन, असक्षम र नालायक पनि हो: ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको गठबन्धन सरकार गैर जिम्मेवार र नालायक रूपमा स्थापित भएको बताउनु भएको छ।

नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा मंगलबार आयोजित मिसन ग्रासरुट अभियान, सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले आठ/दश वर्षदेखि पार्टी अव्यवस्थित भएकोले त्यसलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताउनुभयो। अन्य पार्टीबाट एमालेमा आएकालाई पनि पार्टी भित्र उचित ठाउँ व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले पार्टी कमिटीलाई व्यवस्थित बनाउनु एमालेको आजको आवश्यकता भएको बताउनुभयो।

नेता पोख्रेलले भन्नुभयो, ‘नेकपा एमाले पार्टीलाई दह्रो बनाउन चलाइएको अभियान हो । यो अभियान पार्टीलाई सुदृढ बनाउन चलाइएको अभियान हो, यदि पार्टी बलियो भएन भने यो देशको सकारात्मक ढङ्गले भाग्य र भविष्यको फैसला हुन सक्दै, त्यस कारण पार्टीलाई दह्रो बनाउन आवश्यक छ।’

मिसन ग्रासरुट एउटा तरङ्ग ल्याएको पोखरेलले बताउनुभयो। अभियानले कार्यकर्ता र नागरिकमा उत्साह बढाएको पोखरेलको भनाइ छ । यो बेलमा एमाले सुदृढ र दह्रो बन्नु पर्ने पोखरेलले बताउनुभयो।  

सरकारको कारण देश बरबादीको दिशा तर्फ जान लागेको उहाँले बताउनुभयो । सरकारले नागरिक हितका कुनै पनि काम गर्न नसकेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन सरकार गैर जिम्मेवार र नालायक मात्र होइन निरीह बनेको छ।’

एमालेले मात्र देश विकास र राष्ट्रियताको मुद्दा बोकेर हिँड्ने उहाँले बताउनुभयो । एमालेले राष्ट्रिय स्वाभिमानको झण्डा झुक्न नदिने उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले मात्रै यो देशलाई बनाउन सक्ने पार्टी हो’, उहाँले भन्नुभयो । 

एमालेमा नयाँ युवालाई प्रवेश गराउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो । पाका नेताले मात्रै पार्टी नचल्ने बताउँदै पोखरेलले पार्टीमा युवालाई समावेश गर्दै लैजानु पर्ने प्रष्ट पार्नुभयो ।