काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाउनु भएको छ ।
आज काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको समेत बताउनुभयो।
उहाँले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ताबाहेक केही नदेख्ने प्रवृति देखिएको बताउनुभयो।
व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्बौं कमाएको तर देश घाटामा गएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गर्नुभयो।
अध्यक्ष ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गर्नुभयो । उहाँले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी गर्नुभयो ।




प्रतिक्रिया