अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ: अध्यक्ष ओली

पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा  आयोजित  मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगीका साथ एकताबद्ध बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्ने बताउनुभयो । “यो पक्षलाई भाग, ऊ पक्षलाई भाग पार्टीभित्र हुँदैन। योग्यता, क्षमता, सक्रियता, योगदानले हेरेर पार्टीले जिम्मेवार दिन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सङ्गठन सुदृढीकरणका लागि सञ्चालन भएको ग्रासरुट अभियान अझ नपुगेको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “अझ संयमित ढङ्गले कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

उहाँले एमाले कुनै ठाउँमा नेता तथा कार्यकर्ता नपुगेर कमजोर रहेको भनाइ राख्नुभयो । सर्वाधिक जनताले मन पराएकाले प्रमुख शक्ति एमाले रहे पनि एमाले सुदृढ भएका ठाउँमा कोही पनि साथीले जित्न नसकेको उहाँको थियो। 

एमाले कार्यकर्ता इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “एमाले कार्यकर्ता बेइमान हुँदैनन्। बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।” नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।