विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहनुभएका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।
अभिव्यक्ति स्वतन्त्रता आमजनताले प्राप्त गर्ने स्वतन्त्रता हो र प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो भन्दै उहाँले प्रेस स्वतन्त्रताबिना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन नसक्ने उल्लेख गर्नुभएको छ।
विश्वभरिका अधिकांश लोकतान्त्रिक मुलुकले प्रेस स्वतन्त्रतालाई संवैधानिकरूपमै व्यवस्था गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा नेपालमा प्रेस स्वतन्त्रतालाई जनताको मौलिक हककै रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ।
‘संवैधानिकरूपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याउन यसको पुनः संरचना, नीतिगत र कानूनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ’, सन्देशमा भनिएको छ, “कोशी प्रदेश सरकारले पनि सञ्चारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ र त्यसलाई चाँडै नै अन्तिम रूप दिने कुरा यो सुखद अवसरमा म जानकारी गराउन चाहन्छु ।’
पत्रकार र पत्रकारिता क्षेत्रको दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षाबिना प्रेस स्वतन्त्रता पूर्णरूपमा कार्यान्वयन हुननसक्ने भएकाले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको यस विशेष अवसरमा स्वतन्त्रता प्रेमी सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया