अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लियो

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लियो


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभापति लामिछानेको पटक पटकको वार्ता सकारात्मक दिशातिर अघि नबढेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। 

बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपनिर्वाचनमा मतदाताले तपाईंहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’

गत मंसिर ४ को चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको थियो।

माघ १३ गते रविले सांसद पद गुमाएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो। तर रविको राहदानी विवाद पनि रहेको अवस्थामा रास्वपाले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनलाई सघाएको थियो। त्यसैगरी प्रधानमन्त्री प्रचण्डले गत चैत ६ गते विश्वासको मत लिँदा पनि रास्वापले साथ दिएर सरकारको पक्षमा उभिएको थियो। 

तर वैशाख १० गते रवि चितवन २ को उपनिर्वाचनबाट विजयी भएसँगै सरकारमा फर्किने चर्चा थियो। त्यसकै लागि प्रधानमन्त्री प्रचण्डले रविसँग पटक पटक वार्ता गर्नुभएको थियो ।

तर रास्वपाले आफूहरु सात दलीय गठबन्धनमा हुँदा न्यूनतम् साझा कार्यक्रममा राखिएका भ्रष्टाचारसम्बन्धी बुँदा हटाइएको भन्दै असन्तुष्टि जनाएको थियो। यसलाई लिएर प्रचण्डले न्यूनतम् साझा कार्यक्रम संशोधन गरेर भ्रष्टाचारका जुनसुकै फाइल खोल्ने प्रतिबद्धता जनाउनु भएको थियो ।