काठमाडौं-काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ। आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा दशैं घरमा जमरा राखिएको हो।
नेपालीहरूको महान् चाड बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्ने परम्परा छ। यस दिन बिहानै नित्यकर्म गरी शुद्ध स्थानमा बालुवा वा माटो राखेर त्यसमा जौ छर्ने गरिन्छ। जमरा राख्ने स्थानलाई परम्पराअनुसार गाईको गोबरले लिपपोत गरी शुद्ध बनाइन्छ।
दशैं घर तथा पूजाकोठामा विधिपूर्वक छरिएको जौको जमरा विजयादशमीका दिन टीकासँगै ग्रहण गर्ने धार्मिक परम्परा छ। नवरात्रका नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी दशैं मनाउने गरिन्छ।
घटस्थापनासँगै सुरु भएको नवरात्रले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक मिलनको उत्सवका रूपमा मनाइने बडादशैंको रौनक बढाएको छ।





प्रतिक्रिया