विराटनगर-कोशी प्रदेश सरकारको आयोजनामा २०८३ असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै सातै प्रदेशबीच सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन्।
सम्मेलनमा प्रदेश सरकारले शासन सञ्चालन र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल हुनेछ। संविधानप्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार र वित्तीय संघीयताको कार्यान्वयनलाई प्रमुख छलफलका विषय बनाइनेछ।
त्यसैगरी, प्रदेशहरूबीच साझा हितका विकास आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयन, अन्तरप्रदेश पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट तथा विपद् व्यवस्थापनमा सहकार्यका विषयमा पनि छलफल हुनेछ।
सुशासन, सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदानप्रदान र प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने, विकासका उपलब्धि जनतासम्म पुर्याउने र प्रदेशको आन्तरिक आय अभिवृद्धि गर्ने सम्भावनाको उपयोग सम्मेलनका मुख्य उद्देश्य रहेको जनाइएको छ।
सम्मेलनबाट प्रदेशहरूबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउन साझा एजेन्डा, प्रस्तावित कार्ययोजना तथा प्रतिबद्धता अघि सारिने कोशी प्रदेश सरकारको भनाइ छ।
नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले योगदान पुर्याउने अपेक्षा गरिएको छ। सातै प्रदेशको सहभागितामा संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता कोशी प्रदेश सरकारले जनाएको छ।



प्रतिक्रिया