अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन पार्टी जागरण तथा अगुवा कार्यकर्ता भेला

अध्यक्ष ओलीको आरोप: सरकार नागरिकप्रति उत्तरदायी भएन, स्टन्टबाजीमा केन्द्रित भयो

अध्यक्ष ओलीको आरोप: सरकार नागरिकप्रति उत्तरदायी भएन, स्टन्टबाजीमा केन्द्रित भयो


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरकार त्यसतर्फ गम्भीर नदेखिएको टिप्पणी गरे।

आइतबार कोटेश्वरस्थित केएम बैंक्वेट, महादेवस्थानमा एमाले सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपद् व्यवस्थापनका लागि सरकारले सर्वदलीय समिति गठन गर्नेसम्मको फराकिलोपन देखाउन नसकेको बताए।

अध्यक्ष ओलीले यसअघि भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढी आउँदा हेलिकोप्टरको दुरुपयोग भएको र उद्धार तथा राहतका काम समयमा हुन नसकेको आरोप लगाए। यसपटक त्यस्ता कमजोरी नदोहोर्‍याउन सरकारलाई आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘सरकारले पहिले भोटेकोशी, त्रिशूलीमा बाढी जाँदा हेलिकोप्टरको दुरुपयोग भएको छ। राहत, उद्धारका कार्य समयमा भएका छैनन्। यसपटक त्यो नदोहोरियोस्। सरकारले फराकिलो बनाओस्।’

अध्यक्ष ओलीले केही मन्त्रीले सरकारी हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो गरी प्रयोग गरेको आरोपसमेत लगाए। हेलिकोप्टर चढ्न पाउने अवसर पाएजस्तो गरी त्यसको प्रयोग गरिएको उनको टिप्पणी थियो।

अध्यक्ष ओलीले विपद्का बेला प्राप्त वैदेशिक सहयोगको समेत उचित सदुपयोग हुन नसकेको बताए। सहयोग समयमा स्वीकार नगर्दा उद्धारमा ढिलाइ भएको र त्यसले मानवीय क्षति बढाएको हुन सक्ने उनको भनाइ थियो।

‘वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन। समयमा स्वीकारिएन। जसले गर्दा अनावश्यक रूपमा उद्धारको अभावमा थुप्रै नागरिकहरूले ज्यान गुमाउनु परेको भन्न सकिन्छ। यसपटक त्यस्तो नहोस्,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले त्रिशूलीमा बेलिब्रिज राखिएको भन्दै कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार पारिएको तस्बिर सार्वजनिक गरेर प्रचार गरिएको टिप्पणी पनि गरे। अरूलाई निषेध गर्दै बेलिब्रिज निर्माण गरिएको दाबी प्रस्तुत गर्न त्यस्तो तस्बिर प्रयोग गरिएको उनको आरोप थियो।

एमाले सम्पर्क विशेष संगठन कमिटीको आयोजनामा भएको भेलामा कमिटीका सल्लाहकार, प्रदेश तथा जिल्ला सम्पर्क कमिटीका सल्लाहकार, विभागीय सदस्य, निर्वाचन क्षेत्र तथा पालिका सम्पर्क मञ्चका प्रतिनिधि र पार्टीमा आबद्ध कार्यकर्ताको सहभागिता थियो।

पार्टीका संगठनात्मक गतिविधिलाई सक्रिय बनाउने र अगुवा कार्यकर्तालाई परिचालन गर्ने उद्देश्यले भेला आयोजना गरिएको आयोजकले जनाएको छ।