काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनु भएको छ ।
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनु भयो ।
उहाँले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यिनै विकृति, विसंगति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रीय समितिमा ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ। नेपालीलाई पनि भूटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो। हामी मुलुकको रुपान्तरण खोज्छौँ भने हामीले सबैभन्दा पहिला आफैँ रुपान्तरण हुन आवश्यक छ। भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ। जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौँ, तबसम्म भइरहन्छ।’
मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताउनुभयो ।






प्रतिक्रिया