गोरखा-गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङस्थित भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान लोक्पा र चुम्लिङबीचको क्षेत्रमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएको थियो। नदी खुलेपछि आएको तीव्र बाढीले नदी तटीय क्षेत्रका बस्ती, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
घटनास्थलमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। थप ५० जना प्रहरीलाई विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
पुल, घर र जलविद्युत् आयोजनामा क्षति
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबासतर्फ जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगेको छ भने अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको क्याम्प क्षेत्र तथा आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरण छ।
त्यस्तै, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको प्राधिकरणले जनाएको छ।
आरुघाट–९ स्थित माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ वटा घर उच्च जोखिममा परेका छन्। बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्रमा समेत क्षति पुर्याएको छ भने केही निर्माण उपकरण बगाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीले दुईवटा टेलिफोन टावर र करिब ५० वटा विद्युत् पोलमा पनि क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
बाढीको जोखिम कायमै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बाढीको कारण तथा जोखिमको अवस्था आकलन गर्न ड्रोन र भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ। घटनास्थलमा थप विवरण संकलन तथा क्षतिको मूल्यांकन गर्ने काम भइरहेको छ।
प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार बूढीगण्डकी नदीको तटीय क्षेत्रमा अझै जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
प्राधिकरणले गोरखा, धादिङ, तनहुँ र चितवनलगायत बूढीगण्डकी तथा त्रिशूली नदीका तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। साथै, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ।





प्रतिक्रिया