काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताउनु भएको छ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा भयो त्यसको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ। अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउन हामी लागिपरेका छौँ ।’
आजको प्रमुख तीन दलका नेताहरुको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताउनु भयो ।
केही दिनअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रमा गएका बेला भएको आक्रमणको सन्दर्भमा दुःख प्रकट गर्न फोन गरेको र सो क्रममा काठमाडौँ आएपछि भेट्ने प्रतिबद्धता जनाएकोले ओलीलाई भेट्न बालकोट गएको दावी गर्नुभयो । गृहमन्त्री श्रेष्ठले सो भेटमा नक्कली शरणार्थी प्रकरण सामान्य भ्रष्ट्राचारको केश नभएको कुरामा दुवैजनाको एक मत भएको बताउनुभयो ।




प्रतिक्रिया