बनेपा – राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।
जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहित कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उहाँको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गर्नुभएको छ । त्यस्तै बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताउनुभयो ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई माग पत्र हस्तान्तरण गर्नुभयो।
विसं २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उहाँ १४ वर्षको हुनुहुन्थ्यो । सोही दिनदेखि ओछ्यान पर्नुभएका उहाँको ३२ वर्षको उमेरमा निधन भएको हो । उहाँ १७ वर्ष एक महिना अचेत अवस्थामा रहनुभएको थियो ।






प्रतिक्रिया