अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै


काठमाडौं-बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। तपस्या, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीक ब्रह्मचारिणी देवीको आराधना गर्नाले आत्मबल, धैर्य, ज्ञान र सदाचार वृद्धि हुने धार्मिक विश्वास छ।

शास्त्रअनुसार ‘ब्रह्म’को अर्थ तपस्या भएकाले तपस्यामा लीन रहने देवीलाई ब्रह्मचारिणी भनिएको हो। देवीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको विग्रह छ। उनको स्वरूपलाई साधना, वैराग्य र आत्मसंयमको प्रतीकका रूपमा लिइन्छ।

पौराणिक मान्यताअनुसार भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न माता पार्वतीले हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। हिमालयकी पुत्रीका रूपमा जन्मिएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाऊँ भनी कठिन साधना गरेकी थिइन्। लामो समयसम्म कठोर तपस्या गरेकाले उनको नाम तपस्याचारिणी अर्थात् ब्रह्मचारिणी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ।

कथाअनुसार तपस्याका क्रममा उनले एक हजार वर्षसम्म फलफूल र त्यसपछि सय वर्षसम्म साग खाएर जीवन बिताएकी थिइन्। त्यसपछि तीन हजार वर्षसम्म जमिनमा झरेका सुकेका बेलपत्र खाएर र अन्त्यमा बेलपत्रसमेत त्यागेर निराहार तपस्या गरेकी थिइन्। उनको कठोर साधनाबाट प्रसन्न भएका ब्रह्माले महादेवलाई पतिको रूपमा प्राप्त गर्ने वरदान दिएको पौराणिक विश्वास छ।

ब्रह्मचारिणी देवीको पूजा गर्नाले तप, त्याग, धैर्य, ज्ञान र आत्मबल वृद्धि हुने धार्मिक मान्यता छ। विशेषगरी विद्यार्थी, साधक तथा योगीहरूका लागि उनको आराधना फलदायी मानिन्छ। देवीको पूजा गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुने विश्वाससमेत रहेको छ।

आजका दिन देवीलाई फूल, अक्षता, अबिर, चन्दन, फलफूल तथा विभिन्न परिकार चढाएर पूजा गर्ने परम्परा छ। दूध, दही, घिउ, मह र सख्खरलगायत सामग्रीबाट पूजा गरी प्रसाद अर्पण गरिन्छ। ब्रह्मचारिणी देवीलाई सख्खर चढाएर पूजा तथा दान गर्दा बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक विश्वास छ।

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधनाले भक्तजनमा साधना, अनुशासन र सकारात्मक सोचको विकास हुने विश्वास गरिन्छ। देवीको पूजा–आराधना गर्दै भक्तजनले सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।