काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापतिमा समावेशीतर्फ विनोदकुमार चौधरी तथा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्।
समावेशीतर्फ उपसभापतिको एक पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे। चौधरीले परियारलाई ८७ मतले पछि पार्दै उपसभापतिमा बाजी मारेका हुन्।
समावेशीतर्फ अन्य उम्मेदवारमध्ये फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
यसैगरी, उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। खुलातर्फको मतगणनामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे भने आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
खुलातर्फका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिका तीन पदमा चौधरी, भण्डारी र आचार्य विजयी भएका हुन्।



प्रतिक्रिया