रामेछाप – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ।
प्रेस चौतारी नेपाल रामेछापले बुधबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमाले राष्ट्रपति बिरामी हुनुभएकोले प्रधानमन्त्रीले संघीय संसदमा नीति तथा कार्यक्रम वाचन गर्ने कुरा सुनिएको बताउँदै त्यो संविधान विपरीत हुने बताउनुभयो।
नेकपा एमालेले रचनात्मक प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने उहाँले प्रष्ट पार्नुभयो। राष्ट्रपति अस्वास्थ्य भए त्यस्तो अवस्थामा उपराष्ट्रपतिलाई राष्ट्रपतिको जिम्मेवारी दिएर सो काम गर्नुपर्ने उहाँको सुझाव छ। अहिले विभिन्न विषयलाई जोडेर प्राप्त उपलब्धिलाई उल्टाउने प्रयास हुन लागेको भन्दै रिमालले आलोचना गर्नुभयो । ‘विभिन्न प्रश्न उठाउँदै व्यवस्थालाई नै असफल पार्ने प्रयत्न हुँदै छ’, उहाँले भन्नुभयो।
नेपाको राजनीतिक आन्दोलनका राष्ट्रिय शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उहाँले त्यसमा सतर्क हुनुपर्ने प्रष्ट पार्नुभयो।
नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेको प्रष्ट दृष्टिकोण रहेको उहाँले बताउनुभयो। उहाँले आरोप लागेका सबै नेताहरूलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, ‘दोषी भएमा कानूनी कारबाही भइनै हाल्छ, दोषी प्रमाणित नभएमा तपाईंहरूको चरित्रमा भएको क्षतिको बारेमा छलफल हुन्छ।’
उपमहासचिव रिमालले सो प्रकरणमा प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभयो। नेपाल प्रहरी अनुसन्धानमा अब्बल भए पनि कसैको प्रभावमा परेर काम गर्नु नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीको व्यावसायिकतामा मलाई टिप्पणी गर्नु छैन, तर निष्पक्ष भएर काम गर्नुपर्यो, व्यावसायिक भएर काम गर्यो भने प्रहरीले सबै घटनाको छानबिन गर्न सक्छ।’
एमालेले नक्कली भुटानी शरणार्थी मात्र होइन सबै घटनाको निष्पक्ष छानबिन होस् भनिरहेको उहाँले बताउनुभयो । ‘एउटा काण्ड त आयो अरू के हुन्छ भनेर प्रश्न उठाइन्छ, हाम्रै पार्टीसँग जोडिएर पनि केही कुरा उठाइएको छ, ओम्नी काण्ड, यति काण्ड, ललिता निवास काण्ड, ह्वाइटबडी काण्ड, सबै कृत्रिम काण्डको बारेमा छलफल होस्, यतिसम्मकी क्यान्टोनमेन्टमा रहेका लडाकुलाई दिएको रकमको समेत छानबिन हुनुपर्छ’, उहाँले भन्नुभयो ।
लडाकुलाई दिएको रकमका बारेमा कुरा गर्दा अहिले सत्तामा रहेका मानिसहरूको मुटु दुख्ने रिमालले बताउनुभयो । ‘किन भने त्यसमा साह्रै दुख्ने ठाउँ छ उहाँहरूको, कसलाई कुन पार्टीलाई केले दुख्छ भन्ने कुरामा एमालेको त्यति चासो छैन, कसैलाई किन छोड्ने ? कसैलाई छाड्नु हुँदैन, कुनै पनि काण्डको बारेमा एमाले मुखमा पानी हालेर बोल्दैन’, उहाँले भन्नुभयो ।
देशको अर्थतन्त्र अत्यन्त संकटमा परेको बेला सरकारले कुनै नयाँ कार्यक्रम ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई बजेट नै पठाउन नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया