काठमाडौं-उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा सङ्कलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिनेकुरा हुन सक्दैन। हामीले कुनै मुद्दा बिना पूर्वाग्रह छानबिन गर्ने, निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ । कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्याउन सरकार प्रतिवद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ ।’
उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ती आर्जन गर्नेकुरा संगठित अपराध भएको बताउनुभयो । उहाँले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ती आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ । यो सामान्यतया ठगी हो । तर ठगी मात्रै होइन, राज्यका उच्च तहमा बसेका व्यक्तित्वहरु र तलसम्मको सेट मिलाएर यो काम अघि बढाइएको छ, त्यसैले संगठित अपराध हो यो । यो राज्यविरुद्धको अपराध पनि हो भन्नेकुरा उठिरहेको छ । यो अनुसन्धान अधिकारीले अपराधको प्रकृतिलाई निश्चित गरिसकेपछि प्रक्रिया अघि बढी नै हाल्छ ।’
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने बताउनुभयो । उहाँले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताउनु भयो ।
नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।




प्रतिक्रिया