अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरीले उडायो जाल्पा आधारभूत विद्यालयको छाना, पठनपाठन प्रभावित

हावाहुरीले उडायो जाल्पा आधारभूत विद्यालयको छाना, पठनपाठन प्रभावित


उदयपुर-हावाहुरीले उदयपुरको रौतामाई गाउँपालिका-४ नचने/बतासेस्थित जाल्पा आधारभूत विद्यालयको छाना उडाएको छ। बिहीबार साँझ परेको वर्षासँगै आएको हावाहुरीले कक्षा-८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईकोठे भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो। हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ।

हावाहुरीले कक्षा-७ र ८ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको पूर्व जनप्रतिनिधि शमशेर राउत (पुरुषोत्तम)ले बताउनुभयो। उहाँले भन्नुभयो, ‘दिनभर विद्यालय सञ्चालन गरिएको थियो। हिजो साँझ वर्षासँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि कक्षा-७ र ८ पठनपाठन प्रभावित हुनुको साथै डेस्क, बेञ्चलगायतका सामान भिजेको छ।’

हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्‍याउँदा ठूलो क्षति भएको राउतले बताउनु भयो। उहाँले भन्नुभयो, ‘हावाहुरीको क्षतिका कारण पठनपाठन सञ्चालन गर्न कठिन भएको छ।’

हावाहुरीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको राउतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हावाहुरीले क्षति पुर्‍याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्नका निम्ति गाउँपालिका, वडाकार्यालय, संघ-संस्था एवम् प्रदेश र सङ्घीय माननीय समक्ष पुननिर्माणका लागि यथाशिघ्र सहयोग गरिदिन हुन अनुरोध गर्ने निर्णय गरेका छौं। हामीले वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र खत्रीलाई पनि जानकारी गरिसकेका छौं । उहाँले चाडै समस्याको सामाधान गर्ने प्रतिवद्धता गर्नुभएको छ।’

विसं २०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १५० विद्यार्थी अध्ययनरत छन्।

जिल्लामा गए राति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन्। हावाहुरीले घरको छाना, बाख्रा, सुगुरको खोर, गाईको गोठ, मकै, फलफूल, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् ।