अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मणिपुरमा मारिए ४० आन्दोलनकारी 

 मणिपुरमा मारिए ४० आन्दोलनकारी 


नयाँ दिल्ली । केही समय देखी भड्किएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको ज्यान गएको छ । मणीपुरका विभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्त हुदाँ ४० जना मारिएका हुन् । 

मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको पुष्टीसमेत गरेका छन्  । ‘आतंकवादीहरूले एम १६ र एके ४७ असल्ट राइफल र स्नाइपर बन्दुकहरू आम नागरिकहरू विरुद्ध प्रयोग गरिरहेका छन्। तिनीहरू धेरै गाउँहरूमा घरहरू जलाउन आएका छन्। त्यसैले उनीहरूविरुद्ध धेरै कडा कारबाही सुरु गरेका हौं, जुन कारबाहीमा करिब ४० आतंककारी मारिएको खबर छ,’ मुख्यमन्त्री एन बिरेन सिंहले सञ्चारकर्मीसँग भने ।

आतंकवादीहरूले निहत्था नागरिकहरूमाथि गोली हानिरहेका उनले बताए । उनीहरूले मणिपुरलाई तोड्न खोजिरहेका भन्दै केन्द्र सरकारको सहयोगमा राज्य सरकारले उनीहरूविरुद्ध कडा कारबाही गरेको सिंहले बताए ।

मणिपुर पुलिस कमाण्डोले हिजो जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए । आन्दोलनकारीहरुले इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मी माथि एकैसाथ हमला गरेका थिए । सो क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको वातावरण निम्ताएको स्थानीयले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो भिडन्तमा परी अझ धेरैको ज्यान गएको बताइएको छ । उनीहरुका अनुसार त्यसको अझै स्वतन्त्र पुष्टि भने बाँकी छ । ‘सडकमा गोली चलेको थियो, बमवारिका आवाज सुनिएको थियो, पहिचान नभएका लासहरु यत्रत्रत छरिएका थिए,’ स्थानीय राकेश मितलले भने । 

मेइती समुदायले अनुसूचित जनजाति (एसटी)को दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको थियो । गत मे ३ मा मणिपुरका पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि झडप सुरु भएको थियो। मणिपुरको ५४ प्रतिशत जनसङ्ख्या मेइती समुदायको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्।

जनजाति  नागा र कुकीले जनसंख्याको ४० प्रतिशत ओगटेका छन् र उनी पहाडी जिल्लाहरूमा बस्छन्। यी दुइ समुदायका बिचमा सरकारले बैमनस्यता बढाइदिएको उनीहरूको आरोप छ । 

मणिपुरमा जातीय द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गइसकेको छ र भारतको उत्तरपूर्वी राज्यमा सामान्य अवस्था ल्याउनका लागि करिब १० हजार बढी सैन्य र अर्धसैनिक कर्मचारीहरू तैनाथ गरेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको मुख्यमन्त्री सिंहले जनाएका छन् ।-एजेन्सी