अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 यो बजेट पास हुन दिँदैनौँ: सुवास नेम्वाङ

 यो बजेट पास हुन दिँदैनौँ: सुवास नेम्वाङ


जनकपुर-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताउनु भएको छ।

शनिवार पार्टीको मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उहाँले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने बताउनु भएको हो।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ। संघीय संसदमा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन। यो बजेट पास गर्न दिदैनौ‌ ।’

उहाँले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रूपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि (असार ३) गतेबाट अनिवार्य अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको पनि बताउनु भयो। उहाँले मुख्यसचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने बताउनु भयो।

‘भोलि आइतवार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिनअघि मुख्यसचिव हुनुभयो। मुख्यसचिवको पद खालि थिएन। मुख्यसचिवमा काम गरिरहेका व्यक्ति उहाँको अझै तीन महिना म्याद थियो,’ नेम्वाङले भन्नुभयो, ‘तर अचानक उहाँलाई राजीनामा गराइयो। अनि उहाँलाई सुरक्षा परिषद्मा लगेर नियुक्ति गरियो। जुन धेरै वर्षदेखि खालि थियो। केको लागि, देशका लागि ? होइन।’ 

उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरूले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताउनु भयो । उहाँले नागरिकताको विषय टुंगोमा पुर्‍याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने बताउनु भयो ।