काठमाडौँ- नेकपा एमालेले अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, जीवन रक्षा र उनीहरूलाई राहत उपलब्ध गराउन साथै घाइतेको उचित उपचार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
बाढीपहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथर लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रतिबारे नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको हो।
‘हाम्रो पार्टी बाढी पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, जीवन रक्षा र उनीहरूलाई राहत उपलब्ध गराउन र घाइतेको उचित उपचार व्यवस्थाका लागि सरकारसँग जोडदार माग गर्दछ। साथै, प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार कार्यमा खट्न सम्बन्धित जिल्ला र पालिकाका पार्टीका कार्यकर्तालाई ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा भएको जनधनको क्षतिप्रतिबारे एमालेले गहिरो दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संखुवासभामा सुपर हेवा जलविद्युत आयोजनाका १६ जना मजदुर बेपत्ता भएका छन् भने केहीको घाइते अवस्थामा उद्धार गरिएको छ। पाँचथरको फिदीमलगायत ठाउँमा छ जना बेपत्ता भएका छन्। ताप्लेजुङमा सिदिङ्मा र सिरिजङ्घा गाउँपालिकामा वर्षाले क्षति पुऱ्याएको छ। सिदिङ्मा गाउँपालिकाको मेहेलेमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता छन् । तीनवटै जिल्लाका ठाउँ-ठाउँमा पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ।’
नेकपा एमाले बाढीपहिरोबाट जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
आज नेकपा (एमाले)ले सातै प्रदेशका नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभासद्हरूसँग भर्चुअल बैठक गरेको थियो। आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेशसभामा पेश गरेको नीति, कार्यक्रम र बजेटबारे छलफल गर्न आयोजित भर्चुअल बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका (एमाले) संसदीय दलका नेताहरूको प्रस्तुति सुन्नु भएको थियो।
बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै धारणा राखेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।









प्रतिक्रिया