काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताउनु भएको छ।
आज गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।
एमालेका प्रमुख सचेतक गिरीले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रीय सरकारले विनियोजन गरेको आरोप लगाउनु भयो। उहाँले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताउनु भयो।
‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रिय सरकारले विनियोजन गरेको छ। अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब छ,’ गिरीले भन्नुभयो, ‘हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर हामीले त्यो खर्च गर्दैछौँ। हाम्रो नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन।’
उहाँले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिन सके मात्रै संघीयता बलियो बन्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौँ। खर्च प्रतिफल दिने ठाउँमा भएको छैन। हामीले ऋण काढेर घ्यू खाने खालको कार्यक्रम बनाएका छौँ । हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ। हामीले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा हामी प्रतिवद्ध हुनुपर्छ।’






प्रतिक्रिया