काभ्रे-नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो ।
बिहीबार काभ्रेको धुलिखेलमा सामुदायिक वन दिवसको अवसरमा नेकपा एमाले वन तथा वातावरण विभागद्वारा आयोजित बृहत् वृक्षारोपण कार्यक्रममा बोल्दै भूगोल र भूमि अनुसार वनमा उत्पादन हुन सक्ने फलफूल सामुदायिक वन भित्र लगाएर सामुदायिक वनलाई आम्दानीको स्रोत बनाउन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सामुदायिक वनलाई अबको समयमा रोजगारीका अवसर सिर्जना गर्ने र आम्दानीका स्रोत पनि बनाउने काम गर्नुपर्छ।’
अध्यक्ष ओलीले सबैभन्दा बढी सुरक्षित र संरक्षित वन सामुदायिक वन भएको बताउनुभयो । वन भित्र वन सुहाउँदा बिरुवा लगाउनु पर्नेमा जोड दिनुभयो । सामुदायिक वनमा ल्वाङ, मरीच, काजु, पान, आँप, कटहर, लिची, नास्पाती, स्याउ, डाले घाँस लगायतका रुख, जडीबुटी लगाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । वन पनि नमासिने, रोजगारी पनि पाउने स्थिति सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । वन क्षेत्रको उपयोग सही ढङ्गले गरियो भने ठुलो रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाई छ ।
वृक्षारोपण एउटा कुरा हो त्यसलाई संरक्षण गर्ने प्रमुख विषय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरुवाको संरक्षणमा जो दिनुपर्छ, नत्र रोप्यो सकिन्छ ।’
नेपालमा धेरै ठाउँमा वन विनाश भइरहेको वेला सामुदायिक वनको अवधारणा आएको ओलीले बताउनु भयो । सरकारले वन संरक्षण गर्न नसकेको बेला सामुदायिक वनको अभियान सफल भएको उहाँको भनाइ छ । देश मरुभूमि तर्फ जाने अवस्था सिर्जना भइसकेको बेला सामुदायिक वन समितिको अवधारण र समुदायले नै वनका सुरक्षा गर्ने अवधारणा नेपालमा सफल भएको उहाँले प्रष्ट पार्नुभयो ‘त्यसले नेपालको वन जङ्गलको विनाश रोकिएको मात्र होइन, वन लगाउने, वन जङ्गलको सुरक्षा गर्ने र विस्तार गर्ने काम हुँदै गयो’, उहाँले भन्नुभयो ।
वैज्ञानिक वन व्यवस्थापनको नाममा केही मानिसहरूले सालको वन विनाश गर्ने योजन बनाएका भए पनि आफू प्रधानमन्त्री हुँदा त्यसलाई रोकेको ओलीले बताउनु भयो । अहिले पनि भित्र भित्रै सालको वन मास्ने केही तत्त्व सक्रिय रहेको उहाँले बताउनुभयो । ‘हामी त्यसलाई गलत बाटोमा जान नदिन, नियन्त्रण गर्न लागिपरिरहेका छौँ’, ओलीले भन्नुभयो ।
वृक्षारोपण कार्यक्रमको ओलीले बरको रुख रोपी पानी हाल्नु भएको थियो। आफू सो रुखको संरक्षणमा आउन नभ्याउने भएकोले त्यसको संरक्षणको जिम्मा धुलिखेलवासीको काखामा सुम्पिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया