मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ३ पुरुष र २ बालक घाइते भएका छन् । उनीहरूको घटनास्थलबाट उद्धार गरिएको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त यात्रुवाहक ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनापछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी उद्धार कार्य गरिएको थियो । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया