काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद सजायमा छुट पाएपछि उनी रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए।
रायमाझी बिहीबार बिहान करिब ७ बजे कारागारबाट बाहिरिएका थिए। उनलाई लिन पुगेका आफन्त तथा शुभेच्छुकले फूलमाला लगाएर स्वागत गरेका थिए। कारागारबाट निस्किएपछि उनी सातदोबाटोको घर पुगेका छन्। केही दिन आराम गरेपछि आफ्नो स्थायी घर अर्घाखाँची जाने तयारी रहेको उनीसँगै पुगेका लिला केसीले बताएका छन्।
रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट दिने निर्णयसहित संशोधित कैदीपुर्जी जारी गरेको थियो । तिहारअघि नै रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।
अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरिएको थियो । यस प्रकरणमा उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसमेत मुछिएका थिए ।
उमेरका आधारमा प्राप्त कानुनी सुविधाअनुसार थुनामुक्त भएका रायमाझीको रिहाइसँगै उनको आगामी राजनीतिक तथा सार्वजनिक भूमिकाबारे पनि चासो बढेको छ ।



प्रतिक्रिया