अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा आगलागी हुँदा पाँच घर तथा संरचना जलेर नष्ट

मोरङमा आगलागी हुँदा पाँच घर तथा संरचना जलेर नष्ट


विराटनगर-मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागी हुँदा पाँच वटा घर तथा अन्य संरचना जलेर नष्ट भएका छन्। बुधबार साँझ भएको आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घर, दुई वटा गाईगोठ, भान्छाघर र भण्डारघरसहित पाँच वटा संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

बुधबार साँझ करिब ६ः४५ बजे सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा मध्यरातमा नियन्त्रणमा लिइएको थियो। आगो निभाउन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ।

आगलागीका क्रममा गोठमा रहेका गाईगोरु बाहिर निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने आशंका गरेको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।