अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक: महासचिव पोखरेल

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताउनुभएको छ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उहाँले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताउनुभयो। 

नेम्वाङप्रति देखिएको सद्भाव र उहाँको अवसानपछि देखिएको सहानुभूतिले उहाँले सार्थक जीवन जिउनुभएको महासचिव पोखरेलले बताउनुभयो। संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उहाँले बताउनुभयो। 

“एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ”, पोखरेलले भन्नुभयो, “माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ।”

नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उहाँले बताउनुभयो। नेम्वाङप्रति सम्मान गर्ने हो भने उहाँको भावना बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, डा. विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताउनुभएको थियो।

Skip This