काठमाडौँ-सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनु भएको छ।
बिहीबार काठमाडौँमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताउनु भयो।
उहाँले कानूनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भूमिका खेल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानले व्यवस्था गरेको कुरा कानुन प्रबन्ध गर्ने कुराहरू थुप्रै बाँकी छन् । कानूनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू पनि केही देखिएका छन् । चर्चा परिचर्चामा यो सूचनाको हकलाई असर पार्ने ढङ्गबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । यी सबै पक्षलाई हेरेर अब कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा खासगरी विधायकहरूले खेल्नुपर्ने भूमिका संघीय संसदमार्फत कसरी खेल्नुपर्छ ? विधेयकहरुमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरूलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरूले गर्न सक्छन् । विगतको प्रतिवन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुरामा अथवा मिडियाको क्षेत्रबाट हामीले हिजोको गलत परिपाटी प्रणाली पद्धति र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने संगठित र आवश्यकताअनुसार यस्ता कुरामा उल्लेखनीय ऐतिहासिक भूमिका निर्वाह गरेको मैले ठानेको छु । प्रजातन्त्रको स्थिरता, समृद्धि, जबाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।’




प्रतिक्रिया