अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अयोग्यलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो: महेश बर्तौला

अयोग्यलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो: महेश बर्तौला


काठमाडौँ-नेकपा(एमाले)का सांसद एवं सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाउनु भएको हो।

 उहाँले परिक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले न्यायाधीश नियुक्तिले न्यायालयप्रतिको मानिसको भरोसा र विश्वासमाथि कुठाराघात भएको बता‍उनु भयो। उहाँले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समिति समक्ष स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय सेवा आयोगले परीक्षा लियो। परीक्षामा अनुत्तीर्ण भएका प्रतिष्पर्धीहरु कसरी न्यायाधीश नियुक्तिका लागि योग्य हुनुभयो ? न्यायाधीश नियुक्तिमा जब हामी संविधान कार्यान्वयन गर्न सक्दैनौँ भने माननीयज्यूहरु तपाईँहरू के हेरेर बसिराख्नुभएको छ ? कानुनको व्याख्या गर्ने न्यायालयमा यस प्रकारको विषय गम्भीर, लाजमर्दो अवस्था निर्माण भयो। न्याय परिषद् र न्याय सेवा आयोगलाई तत्काल यो विषयमा भएको के हो ? यथार्थ के हो ? तत्काल बैठकमा डाकेर यो विषयमा स्पष्ट पार्नुपर्छ । योग्यतामा प्रश्न सिर्जना भयो । अयोग्य भएको, परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कुन प्रकारको न्यायको अनुभूति गर्न सक्छौँ भन्ने गरी प्रश्न सिर्जना हुने खतरा भयो । यसले समग्र न्यायालयप्रतिको मानिसको भरोसा, विश्वासमाथि अर्को कुठाराघात हुनसक्ने संशय पैदा भयो ।’

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको रिक्त ३६ पदमा पदपूर्ति गरेको थियो । तीमध्ये ७ जना ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट र २९ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने थियो । तर खुला प्रतिस्पर्धाबाट जम्मा १ जना उतीर्ण भए र बाँकी २८ पदमा कानुन सेवाका उपसचिवहरुबाट नियुक्त गरिएको थियो । यसरी नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए ।

Skip This