अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्याैट, दुई मुद्दा दर्ता

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्याैट, दुई मुद्दा दर्ता


वीरगन्ज–जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्याैट गरेको छ ।

अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट तीन सय ८८ उजुरी पीडितको पक्षमा फछ्र्याैट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । 

यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये तीन सय ९० उजुरीको छानबिन गर्दा तीन सय ८८ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्याैट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार छानविनपश्चात ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा रु सात करोड नौ लाख ३० हजार चार सय ७४ फिर्ता गराइएको छ ।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसवापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोवापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनुभयो । परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको उहाँको भनाइ छ ।

“उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ”, प्रजिअ रेग्मीले भन्नुभयो, “त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका लागि छलफल गराउँछौँ ।” अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको पछ्र्याैट भइरहेको छ, यो राम्रो पक्ष हो उहाँले भन्नुभयो ।

Skip This