काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता भएको छ। दुई पार्टीले १० बुँदे सहमति गर्दै एकताको औपचारिक घोषणा गरेका हुन्।
काठमाडौंस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरिएको हो। एकता सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
१० बुँदे सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा हुनेछ।
सहमतिमा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने उल्लेख छ। त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा आपसी सहमतिका आधारमा समायोजन गर्ने व्यवस्था गरिएको छ।
दुई पार्टीबीच भएको सहमतिले पार्टीको सांगठनिक संरचना, नेतृत्व व्यवस्थापन र एकीकरण प्रक्रियालाई अघि बढाउने आधार तय गरेको छ।




प्रतिक्रिया