काठमाडौं-मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पु¥याएको छ। अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।
भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ ।
अछाममा भूकम्प आउँदा भवनबाट हामफालेर एक विद्यार्थी घाइते बनेका छन्। बान्नीगडी जयगढ गाउँपालिका-६ दर्नामा बिन्देवासिनी माध्यमिक विद्यालयको भवनबाट हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्।








प्रतिक्रिया