अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्याप्त भूमि र जनशक्ति भएर गरिब रहनु विडम्बना हो: अध्यक्ष ओली

पर्याप्त भूमि र जनशक्ति भएर गरिब रहनु विडम्बना हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभएको छ। 

एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको उदघाटनसत्रमा आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। देशको युवा जनशक्तिलाई स्वदेशी भूमिमा परिचालन गर्न नसकेकै कारण मुलुक गरिबीको रेखाभन्दा माथि उठ्न नसकेको उहाँको भनाइ छ। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको अभियान युवालाई स्वदेशमै रोजगार दिने हो, आफ्नै भूमिमा सुन फलाउने हो, त्यसका लागि हाम्रो सिङ्गो पार्टी परिचालित छ।’ उहाँले पार्टी पङ्तिलाई सिर्जनात्मक काममा लाग्न आव्हान गर्नुभयो।

नेपाललाई प्रकृतिले सबैचिज प्रदान गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको सदुपयोग गर्न नसक्नु नै सबैभन्दा कमजोरी भएको बताउनुभयो। ‘नेपालमा रहेका हिमाल, पहाड, तराई, जल जंगल, अथाह पानी, जडिबुटी, चट्टान, फलाम तथा खानीजन्य चिजको सही सदुपयोगका लागि युवा शक्ति यही परिश्रम गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘हाम्रो देश हामीले नै बनाउने हो, कोही बाह्य व्यक्ति आएर बनाउँदैन, हाम्रा पसिना यही बग्नुपर्छ । हाम्रा युवाहरु यही श्रम गर्नुपर्छ । त्यसको नेतृत्व एमालेका विशाल नेता तथा कार्यकर्ताले गर्नुपर्छ ।’

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना एमालेले गरेको बताउनुहुँदै अध्यक्ष ओलीले हाम्रै पालामा नेपाल समृद्ध बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले अनुशासनविना परिवार, समाज, पार्टी र देशको कल्पना गर्न नसकिने बताउनुभयो । संविधानमा सबै कुराको व्याख्या गरेर सम्भव नहुने भन्दै उहाँले अनुशासनले व्यक्ति, परिवार, समूह, समाज, पार्टी र देशलाई नै बाँध्ने काम गर्ने गरेको उहाँले चर्चा गर्नुभयो। पार्टीको नीति, देशको ऐन कानुन, संविधान सबै अनुशासनकै एक रुप भएको उहाँले व्याख्या गर्नुभयो। 

अध्यक्ष ओलीले एमाले उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्व सहमतिका साथ गर्न निर्देशन गर्नुभयो। अरु सबै प्रदेशमा कमिटीहरु प्रतिस्पर्धात्मक रुपले नेतृत्व छनौट गरे पनि उपत्यका विशेष कमिटीले सहमतिको आधारमा नेतृत्व छनौट गेर नमुना काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।