लुवाण्डा (एङ्गोला)-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ।
अन्तरब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार दुबैजनाबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले सम्बन्ध प्रगाढ रहेको बताउनुभयो।
दुवै मुलुकले अन्तर्राट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको उहाँले स्मरण गनुभयो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एकअर्का देशलाई समर्थन गर्दैआएको कुरामा जोड दिंदै बेल्जियमले नेपालको बिकास प्रयासमा विभिन्न दातृ निकायमार्फत गरेको योगदानका लागि धन्यबाद दिनुभयो।
नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । ‘नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘संसदीय अनुभवको आपसी आदनप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सवल बनाउने अवसर हाम्रोसामु रहेको छ।’
उहाँले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बीचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बीचमा धेरै समनताहरु रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानवअधिकारको प्रबर्धन गर्न सहकार्य गर्न सकिने बताउनुभयो ।




प्रतिक्रिया