अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई भीष्मराज आङ्देम्बेको प्रश्न- १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता के हो ?

सरकारलाई भीष्मराज आङ्देम्बेको प्रश्न- १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता के हो ?


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल सकिन १७ महिना बाँकी छँदै हटाउनुपर्ने सरकारको बाध्यताबारे प्रश्न उठाएका छन्। देश बाढीपहिरो, विस्थापन र महँगीलगायत समस्याले आक्रान्त भइरहेका बेला सरकारको प्राथमिकता आईजीपी परिवर्तनमा केन्द्रित भएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित नागरिक पीडामा रहेको, विस्थापित सुकुम्बासीको अवस्था दयनीय बनेको र महँगीले जनजीवन कष्टकर भएको उल्लेख गरेका छन्।

‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ? प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो ? सरकारले जवाफ दिनुपर्छ,’ उनले लेखेका छन्।

उनले आईजीपी हटाउने विषयमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच फरक–फरक धारणा सार्वजनिक भएको भन्दै सरकार कसको निर्देशनमा सञ्चालन भइरहेको छ भन्ने प्रश्नसमेत गरेका छन्।

‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्, तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’ उनको प्रश्न छ।

आङ्देम्बेले प्रहरी अनुसन्धानका लागि बरामद गरिएको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्। अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको मोबाइल राजनीतिक सल्लाहकारको घरमा कसरी पुग्यो र त्यसमा रहेको के मेटाउन खोजिएको थियो भन्ने प्रश्न गर्दै उनले यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

जनताले सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र आफ्नो जीवनस्तरमा सुधार ल्याउने अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले टिप्पणी गरेका छन्।