अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू


काठमाडौँ-काठमाडौँ उपत्यका नजिकको चर्चित गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ। हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो। 

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट  ‘एडभेञ्चर्स अफ इयर-२०१२’ अवार्ड विजेता समेत हुन्। 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने सुनुवार बताउँछन्।  चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ। अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौँ उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ। रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको  समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ। मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमशृङ्खलाने जो कोहीलाई मोहित बनाउँछ। 

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले  जंगलको हरियाली त्यहाँको अर्को मज्जा भएको कम्पनीले जनाएको छ।

कति लाग्छ शुल्क ?

कम्पनीले चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क कायम गरेको छ। सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौँबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने-आउने सुविधा उपलब्ध हुनेछ। फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ। सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्छ।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन्। 

के ख्याल गर्ने ? 

प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ। यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’ को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ।

कसरी गर्ने बुकिङ ? 

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ। जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।

Skip This