अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार सम्मेलनका क्रममा बेहोस् भइन् भारती मानन्धर

पत्रकार सम्मेलनका क्रममा बेहोस् भइन् भारती मानन्धर


काठमाडाैँ-श्रीमान चेतन मानन्धरको हत्यारा बाँकेका योगराज ढकाल (रिगल)ले सरकारबाट पाएको आममाफीको प्रतिवादमा उत्रिएकी भारती मानन्धर पत्रकार सम्मेलनका क्रममा बेहाेस भएर ढलेकी छिन्। 

साेमबार रिपाेर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने क्रममा उनी बेहाेस भएर ढलेकी हुन् । बेहोस भएपछि उनलाई तत्कालै अस्पताल लगिएको छ। 

भारती असोज १७ देखि रिगलको विरुद्ध अनशन बस्दै आएकी छिन् । यस अवधिमा उनी पटकपटक बेहोस भए पनि चिसो सडकको अनशन रोकेकी छैनन् ।

दमको बिरामी र मानसिक समस्याले पीडित भए पनि भारती पूर्वपतिको न्यायका लागि कटिबद्ध देखिएकी छन् । नेपालगन्ज–८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।

त्यसपछि रिगल एकाएक फरार भएका थिए । घटना भएको दुई महिनापछि भदौमा रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय दिएको थियो ।

रिगलसहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत कसुरअनुसार सजाय तोकेको थियो । हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए ।

भारतीले आइतबारबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी छिन् ।