अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईक्यापको १३औँ महासभा

राजनीतिक नेतृत्वको मूल्य शक्तिमा होइन, जनविश्वास र भविष्य निर्माणमा हुन्छ: विनोद चौधरी

राजनीतिक नेतृत्वको मूल्य शक्तिमा होइन, जनविश्वास र भविष्य निर्माणमा हुन्छ: विनोद चौधरी

दक्षिण कोरियाको विकास मोडलबाट नेपालले सिक्नुपर्छ


काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले राजनीतिक नेतृत्वको सफलता शक्ति प्राप्तिमा नभई जनताको विश्वास आर्जन गर्न र देशको भविष्य निर्माण गर्न सक्ने क्षमतामा निर्भर रहने बताएका छन्। उपसभापति चौधरीले नेपालको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण, सुशासन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन्। उपसभापति चौधरीले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास स्वतः प्राप्त नहुने भन्दै इमानदारी, पारदर्शिता र परिणाममुखी कामबाट मात्रै विश्वास आर्जन गर्न सकिने धारणा राखे।

‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,’ उपसभापति चौधरीले भने।

उपसभापति चौधरीले पछिल्लो समय नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

उपसभापति चौधरीले राजनीतिक नवीकरणसँगै आर्थिक अवसरको विस्तार आवश्यक रहेको उल्लेख गर्दै युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

नेपालको आर्थिक विकासका लागि दक्षिण कोरियाको विकास मोडल अनुकरणीय रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सशक्तीकरण, विश्वस्तरीय ब्रान्ड निर्माण तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव हुने बताए।

उनका अनुसार निजी उद्यमलाई विस्तार र प्रतिस्पर्धाका लागि अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको महत्वपूर्ण विशेषता हो।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र आर्थिक विकासमा पार्टीको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसरलाई स्वीकार गरी वर्तमान नेतृत्व तथा पार्टी त्यसलाई सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको बताए। उनले खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणलाई नेपालको विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे।

सम्बोधनका क्रममा उनले एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास र प्रविधिको जिम्मेवार प्रयोगमा सहकार्य तथा अनुभव आदानप्रदान आवश्यक रहेको बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे चर्चा गर्दै चौधरीले नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए। जलवायु परिवर्तनको असर कुनै एक देशमा मात्र सीमित नरहने भन्दै उनले जोखिम न्यूनीकरणका लागि सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

यसैबीच, आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको छ। उनको निर्वाचनले एसियाली राजनीतिक मञ्चमा नेपालको सहभागिता र आर्थिक रूपान्तरण, समावेशी विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाउने अवसर थप विस्तार हुने अपेक्षा गरिएको छ।

सन् २००० मा स्थापना भएको आईक्याप एसियाका विभिन्न राजनीतिक दलबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्छ।