अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित


काठमाडौं-नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो।

एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी महासभाबाट चौधरीको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद र सहकार्यमा नेपालको सहभागिता थप सशक्त हुने अपेक्षा गरिएको छ।

स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।

यसैबीच, महासभालाई सम्बोधन गर्दै चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको बताए। विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यले दक्षिण कोरियाको अर्थतन्त्रमा उल्लेखनीय रूपान्तरण ल्याएको उनको भनाइ थियो।

निजी उद्यमलाई विस्तार र प्रतिस्पर्धाका लागि अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व तथा विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीले पुर्‍याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसर स्वीकार गरेर वर्तमान नेतृत्व तथा सिंगो पार्टी सुधारको बाटोमा अघि बढ्न प्रतिबद्ध रहेको बताए।

उनले खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणलाई नेपालको विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे। लोकतन्त्र र उदार आर्थिक नीतिमा आधारित विकास रणनीति अवलम्बन गर्नुपर्ने उनको धारणा थियो।

सम्बोधनका क्रममा चौधरीले नेपालमा युवा पुस्ताले उठाउँदै आएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी ठोस सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने उल्लेख गर्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कामबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने बताए। युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे।

‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,’ चौधरीले भने।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। नेपालको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने क्षेत्रीय मञ्च हो। सन् २००० मा स्थापित यस संस्थाले क्षेत्रीय शान्ति, स्थायित्व, लोकतन्त्र र आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्छ। चौधरीको निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई एसियाली राजनीतिक मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।