अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु


रुकुमपश्चिम-रुकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका-९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

खड्का मगरलाई सानीभेरी गाउँपालिका-९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नंको मोटरसाइकले ठक्कर दिँदा घाइते हुनुभएको थियो। उहाँलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र आज उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँकै मोटरसाइकल चालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

आज जिप दुर्घटनामा गम्भीर घाइते हुनभएका ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाको छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो। घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी-८ गइरिजिउलामा लु१ज २२९७ नंको जिप दुर्घटनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो।