काठमाडौं-बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन्।
सन् २०२३ का लागि विश्वका विभिन्न देशका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन्।
बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो । कपाली ट्रान्सजेण्डर महिला हुन् । उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन्।
रुक्सना नेपालको आदिवासी नेवा राष्ट्रकी सदस्य, ट्रान्सजेन्डर मानवअधिकारकर्मी हुन् । कपालीले हुर्कदै गर्दा आफ्नो पहिचानको बारेमा जानकारीको अभावमा संघर्ष गरेको बीबीसीले उल्लेख गरेको छ।
उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन्।
उनी हाल कानुनको तेस्रो वर्षकी विद्यार्थी हुन् र नेपालमा लैगिंक तथा यौनिक अल्पसंख्यकं व्यक्तिहरूको कानुनी र संवैधानिक अधिकारको विकासमा सक्रिय रूपमा संलग्न छन्।
राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।






प्रतिक्रिया