अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘ढाकछोप पत्रकारिता’ मौलाउन नदिऊँ: अध्यक्ष बस्नेत

‘ढाकछोप पत्रकारिता’ मौलाउन नदिऊँ: अध्यक्ष बस्नेत


काठमाडौँ-प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

अध्यक्ष बस्नेतले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढवा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको बताउनु भयो।

कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको भन्दै उहाँले सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको उल्लेख गर्नुभयो।

‘कुनै नयाँ र खोजमूलक सामग्री कम तर केही बेथितिका कुरा आउला भनेर ढाकछोप गर्नका लागि पनि अनलाइन खुलेका देखियो,’ उहाँले भन्नुभयो, ‘त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ।’ 

बिहीबार काउन्सिलमा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गर्नुभयो । काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । काउन्सिलका सदस्य दीपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने भन्दै सूचना खोज्ने पत्रकारले नै विज्ञापन पनि खोज्न नहुने सुझाव दिनुभयो  । 

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।

Skip This