अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता


काठमाडौँ-नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो। 'मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु', समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो। देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो।

फरक प्रसङ्गमा परराष्ट्र सचिवले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताउनुभयो। 

नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उहाँले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताउनुभयो। रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उहाँले अनुमतिपत्र प्रदान गरिने बताउनुभएको हो। ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उहाँले सुझाव दिनुभयो।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो। पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसक्नुभएकी उहाँले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा गर्नु भएको थियो। 

Skip This