अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिलनको स्मृतिग्रन्थ विमोचन तथा रिसाललाई विशिष्ट साधक सम्मान

मिलनको स्मृतिग्रन्थ विमोचन तथा रिसाललाई विशिष्ट साधक सम्मान


काठमाडौँ-वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलनको स्मृतिमा प्रकाशित ‘स्मृतिविम्बमा शम्भुकुमार मिलन’ नामक स्मृतिग्रन्थको विमोचन तथा विशिष्ट साधक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शम्भु-निर्मला कला-साहित्य समाजद्वारा राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काइँला र प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त कृतिको विमोचन गर्नुभयो।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैरागी काइँलाले स्रष्टा मिलनले चर्मचक्षुले नदेखे पनि प्रज्ञाचक्षुका भरमा नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा अतुलनीय योगदान दिएको चर्चा गर्नुभयो। विशिष्ट अतिथि दमननाथ ढुङ्गानाले मिलन आफ्नो छिमेकी भाइ भएका कारण उनको अद्भुत प्रतिभालाई आफूले बाल्यकालदेखि नै नियाल्दै आएको विचार व्यक्त गर्नुभयो।

अर्का विशिष्ट अतिथि इतिहासविद् प्रा. दिनेशराज पन्तले मिलन प्राज्ञ सभा सदस्य हुँदाको सकारात्मक सहयोगको समेत चर्चा गर्दै मिलनका नाममा स्थापित संस्थाले भैरव रिसालजस्तो जीवित इतिहासलाई सम्झेकामा खुसी व्यक्त गर्नुभयो। साथै उहाँले २०१८ सालमा बाटोघाटो, यातायात, सूचना आदिको कुनै पनि सुविधा नभएका बेलामा पैदल यात्रा गरेर नेपालको पश्चिम सिमाना लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्म पुगेर जनगणना गर्न सफल रिसालले आफ्नो लेखन तथा रेडियो एवम् टेलिभिजन प्रसारणबाट सदैव नेपाली जनतालाई जागृत गराउने काम गर्नुभएको कुरामा जोड दिनुभयो।

प्रकाशित स्मृतिग्रन्थको समीक्षा गर्दै समालोचक डा. गेणशप्रसाद भट्टराईले स्मृतिग्रन्थमा मिलनको समग्र व्यक्तित्वको उद्घाटन भएको विचार व्यक्त गर्नुभयो । ग्रन्थका प्रधान सम्पादक प्रा.डा. देवी नेपालको मिहिनेत एवम् विद्युतीय शैलीमा काम गर्ने क्षमताका कारण छोटो अवधिमा नै ५६० पृष्ठको बृहत् ग्रन्थ प्रकाशन भएको कुरामा जोड दिँदै स्मृतिग्रन्थमा मिलनको जीवनी, व्यक्तित्व र कृतित्वको जानकारी, उनका प्रकाशित एघारवटै कृतिका विशिष्ट समालोचनाहरू, विभिन्न क्षेत्रका उच्च व्यक्तित्वहरूका संस्मरणहरू, परिवारका सदस्यहरूका संस्मरणहरू, पूर्वप्रकाशित सबै कृतिका भूमिकाहरू, विगत ३५ वर्ष अगाडिदेखि मिलनका बारेमा विभिन्न पत्रपत्रिकामा छापिएका समाचार र समीक्षाहरू, मिलनले प्राप्त गरेका पुरस्कार तथा सम्मानपत्र र विशिष्ट क्षणका मिलनका तस्बिरहरूसमेत समेटिएको हुनाले यो ग्रन्थ मिलनका बारेमा जान्न चाहने, अध्ययन तथा अनुसन्धान गर्न चाहने सबैका लागि पूर्ण सामग्री भएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तथा स्रष्टा विजय चालिसेले मिलनको साहित्यिक सक्रियता र पारिवारिक आदर्शको चर्चा गर्नुभयो भने वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले रेडियो नेपालमा काम गर्दा र गायन क्षेत्रमा सहयात्रा गर्दाका मिलनसँगका अविस्मरणीय क्षणका बारेमा चर्चा गर्नुभयो । साथै डा. गोविन्द आचार्यले दृष्टिविहीनहरूको सिर्जनात्मक क्षमता र जीवनशैलीका बारेमा जानकारी दिँदै मिलनको सिर्जना र जीवनशैली सम्पूर्ण दृष्टिविहीनहरूका लागि प्रेरणाको स्रोत बन्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा स्मृतिग्रन्थभित्र लेखरचनाहरू समेटिएका सम्पूर्ण लेखकहरूलाई संस्थाका तर्फबाट सम्मान गर्नुका साथै प्रमुख अतिथिबाट स्मृतिग्रन्थ हस्तान्तरण गरिएको थियो ।

सभाध्यक्षको मन्तव्य राख्दै शम्भु–निर्मला कला–साहित्य समाजका अध्यक्ष तथा स्मृतिग्रन्थका प्रधान सम्पादक प्रा.डा. देवी नेपालले हरेक प्रतिभाका रक्तवंशका र शब्दवंशका दुई थरी उत्तराधिकारी हुने र ती दुवै थरीले कुनै पनि प्रतिभालाई मर्न दिनु नहुने विचार व्यक्त गर्नुभयो भने संस्थाकी संरक्षक निर्मला रेग्मीले देशका हरेक प्रतिभालाई राज्यले विशेष रूपमा हेर्नुपर्ने विचार व्यक्त गर्दै समाजले आगामी दिनमा अझै विशिष्ट कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रसिद्ध स्रष्टा एवम् कुशल सञ्चालक सरोज घिमिरेको सञ्चालन तथा संस्थाकी कोषाध्यक्ष सिर्जना रेग्मीको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका महासचिव कृष्णप्रसाद पाण्डेले संस्थागत गतिविधि प्रस्तुत गर्नुभएको थियो । ‘स्मृतिविम्बमा शम्भुकुमार मिलन’ स्मृतिग्रन्थको प्रधान सम्पादक प्रा.डा. देवी नेपाल हुनुहुन्छ भने सम्पादक कृष्णप्रसाद पाण्डे र आलोक चालिसे हुनुहुन्छ । स्मृतिग्रन्थ प्रकाशनका लागि समग्र व्यवस्थापकको काम सिर्जना रेग्मीले गर्नुभएको छ भने प्रविधिमा सहयोग कृष पाण्डेले गर्नुभएको छ ।

कार्यक्रमको दोस्रो चरणमा शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएका वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई उहाँका घरैमा गएर ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८०’ बाट सम्मान गरियो । वरिष्ठ स्रष्टा एवम् पत्रकार विजय चालिसेका साथमा संस्थाका सम्पूर्ण पदाधिकारीहरूबाट सम्मानित व्यक्तित्व रिसालका घरमा नै पुगेर दोसल्ला, ढाकाटोपी, माला, सम्मानपत्र र नगद रु. २१,१२१ हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा संस्थाका अध्यक्ष प्रा.डा. देवी नेपालले रिसालज्यू एक अनुपम राष्ट्रभक्त भएको र उहाँले पत्रकारिता, लेखन र ऐतिहासिक खोजीका माध्यमबाट नेपाल र नेपालीलाई सदैव सचेत र जागृत गराउँदै सत्मार्ग देखाउनुभएको हुनाले शम्भु–निर्मला कला–साहित्य समाजले पहिलोपटकको सम्मानित प्रतिभाका रूपमा रिसाललाई रोजेको जानकारी दिँदै उहाँको सुख, शान्ति, समृद्धि र सक्रियतापूर्ण बिसासय आयुको कामनासमेत गर्नुभयो ।

उक्त अवसरमा सम्मानित प्रतिभा रिसालले आफू अस्वस्थता कारण कार्यक्रममा उपस्थित हुन नसके पनि घरैमा आएर सम्मान गरेकामा संस्थाप्रति आधार व्यक्त गर्नुभयो । साथै उहाँले यस सम्मानले र त्यसमा उल्लेख भएका शब्दले आफूले दिएको योगदानभन्दा बढी नै पो मूल्याङ्कन गरेको हो कि भन्दै फलेको वृक्षको हाँगोजस्तै भएर विशिष्ट सदाशता र नम्रताको भाव प्रकट गर्नुभएको थियो।

Skip This