काठमाडौँ–मेलम्ची खानेपानी विकास समितिले २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने बताएको छ ।
विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले आज विज्ञप्ति जारी गर्दै दुई सिफ्टमा काम गराएर २८ दिनमा मेलम्चीको पानी काठमाडौँमा झर्ने बताउनुभएको हो ।
सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि समितिले २८ दिनमा काम सम्पन्न गर्ने र त्यसपछि काठमाडौँमा पानी आउने प्रतिबद्धता जनाएको छ । वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौँ आएको छैन ।
प्रवक्ता पन्तले भन्नुभयो, ‘तत्काल निर्माण व्यवसायीलाई साइडमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ । सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’
पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समितिको भनाइ छ ।




प्रतिक्रिया