अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल-गोरूसिंगे सडकले दुर्गति बेहोर्न नपरोस्: विष्णु पौडेल

बुटवल-गोरूसिंगे सडकले दुर्गति बेहोर्न नपरोस्: विष्णु पौडेल


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल-गोरूसिंगे सडक स्तरोन्नति कार्यले कुनै दुर्गति बेहोर्न नपरोस् भन्नुभएको छ।

आज पूर्व पश्चिम राजमार्गको बुटवल-गोरूसिंगे सडक खण्ड डेडिकेटेड चारलेन (खास ठाउँमा आठलेन, छलेन, अण्डरपास र ओभरपास समेत) मा स्तरोन्नतिका लागि बोलपत्र आव्हान भएकामा खुशी व्यक्त गर्दै उक्त कार्य समयमै सम्पन्न हुनुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ, ‘हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ । विश्व बैंकको ऋण लगानीमा सम्पन्न हुने यस आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् ।’

स्वस्थ एवं पारदर्शी प्रक्रियाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् भन्दै उहाँले छनोट भएको कन्सल्ट्यान्ट कम्पनी एलइए एसोसिएट्स साउथ एसिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परिक्षण र सहजीकरण गरोस् भन्नुभएको छ।

त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमीटर सडकको डीटेल डिजाइन शिघ्र सम्पन्न गरी निर्माणकार्य आरम्भ गर्न माग गर्दै उहाँले बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी आरम्भ गर्न आग्रह गर्नुभएको छ।

जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ति/कमजोरी हुँदा खबरदारी गरिने जानकारी गराउनुभएको छ।